रोल्पाको परिवर्तन गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न ।

पौष २७ घर्तिगाउँ । रोल्पाको परिवर्तन गाउँपालिकाले ६ महिनमा भएका समग्र बिकास निर्माण र सेवा प्रवाहको बिषयमा सार्वजनिक सुनुवाई कार्यक्रम आज बुधबार गाउँपालिको बहुउद्देश्यीय सभाहल पुतलाचौरमा सम्पन्न गरेको छ ।
सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकावाट सञ्चालित विकास कार्यक्रम, उपलब्ध सेवा, वस्तु र सुविधा सार्वजनिक गरी सेवाग्राही नागरिकले उठाएका प्रश्नहरुमा प्रष्टता ल्याउन र नागरिकबाट प्राप्त रचनात्मक सुझावहरुलाई ग्रहण गरिएको थियो । आम नागरिकको चासो सरोकार तथा विकास निर्माण योजना र समस्याको समाधान गरी सेवाग्राहीका रुपमा आएका सर्वसाधारण प्रति सेवा प्रदायक निकायबाट भए गरेका क्रियाकलाप, योजना सञ्चालनका बिषयमा सर्वसाधारणहरुमा जानकारी गराउने उद्देश्यले कार्यक्रम गरिएको हो ।
परिवार्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढामगरको सभापतित्वमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कलादेवी खत्रेनी, निमित्त प्रमुख प्रशासकीय अधिकृत धुव्रराज न्यौपाने, ६ वटै वडाका वडा अध्यक्षहरु, गाउँपालिकाका बिभिन्न शाखा प्रमुखहरु, वडा सचिवहरु लगाएत बिभिन्न सरोकारवाला निकायका प्रतिनिधि र स्थानीयको उपस्थिति रहेको थियो ।
सार्वजनिक सुनुवाइमा कार्यक्रममा विशेष गरि गाउँवासीहरुले वाटोघाटो , शिक्षा,स्वास्थ्य, खानेपानी, भवन निर्माण लगाएतको समस्याको वारेमा प्रश्नको माध्यमवाट समस्याको उपाय खोज्दै जिज्ञासा तथा सुझाव समेत राखेका थिए । कार्यक्रममा गाउँपालिकाको विविध समस्या तथा सामाधानका उपायका बारेमा विचार विमर्श समेत गरिएको थियो । कार्यक्रममा उठेका प्रश्न सम्बधित शाखाका प्रमुखले दिनुभएको थियो । गाउँपालिकामा हालसम्म चालुतर्फ २४ दशमलव १४ प्रतिशत र पुजीगत तर्फ १५ दशमलव ०४ प्रतिशत बजेट खर्च भएको जानकारी गराइएको थियो ।
कार्यक्रममा उठेका प्रश्नको उत्तर दिदै गाउँपालिका अध्यक्ष बुढामगरले सुझाव,सल्लाहको सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ध्रुवराज न्यौपानेको बिषय प्रवेशबाट शुरु भएको कार्यक्रमको सहजीकरण रेडियो माडी आवाज घर्तिगाउँ रोल्पाका स्टेशन म्यानेजर बुद्धिमान वलीले गर्नुभएको थियो ।