बुद्धिमान वली रेडियो माडी आवाज घर्तिगाउँ रोल्पा ।
पौष २८ रोल्पा । रोल्पाको माडी गाउँपालिकाले १२ औ गाउँसभा तथा हिउँदे अधिबेशन आज (बिहिबार) सम्पन्न गरेको छ ।
आज सम्पन्न गाउँसभाले अघिल्लो गाउँसभाले गरेको केही शिर्षकका बजेटलाइ कटौती गरेर १ करोड ६० लाखको नयाँ शिर्षकको कार्यक्रम बनाएको छ । सभाले खानेपानी,सरसफाइ तथा स्वच्छता विधेयक र न्यायिक समितिले हालसम्म गरको प्रगति प्रतिबेदन समेत पास गरेको छ ।
गाउँसभामा बोल्दै माडी गाउँपालिकाका अध्यक्ष अमरसिंह घर्तिमगर (मित्रमणी)ले गाउँपालिकाका जन प्रतिनिधि,कर्मचारीले आफ्नो कार्यक्षेत्रमा इमानदारीताका साथ खटेर काम गरेको प्रति आभार व्यक्त गर्दै आगामी दिनमा समेत निकै सक्रियताका साथ काम गर्न निर्देशन समेत दिनुभएको थियो । संघीयताको मर्म अनुसार जनताको हक अधिकारलाई स्थानीय तहमै सुनिश्चित गर्नको लागि आफुहरु लागि परेको बताउँदै अध्यक्ष घर्तिमगरले दिर्घकालिन विकास निर्माणमा आफुहरु अगाडी बढिरहेको बताउनुभयो । उहाँले माडी गाउँपालिका कृषि,पर्यटन क्षेत्रको मेरुदण्ड भएकाले यसलाई अगाडि बढाउन सबैको आवश्यकता रहेको बताउनुभयो ।
गत असारको गाउँसभाबाट वार्षिक नीति, कार्यक्रम तथा बजेट पारित गरेको माडी गाउँपालिकाले गाउँ सभा तथा हिउदे अधिबेशन बाट केही योजनाहरू संशोधन गरेको छ । विभिन्न शिर्षकबाट रकमान्तर गरी केही अत्यावश्यक तथा छुट हुन गएका योजनाहरूमा बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष घर्तिमगरले बताउनुभयो । गाउँ सभाका सदस्यहरूले गाउँपालिका अध्यक्ष घर्तिमगरबाट प्रस्तावित प्रस्तावहरू सर्वसहमतिले अनुमोदन समेत गरेका छन । यस अघिको कार्यपालिका बैठकमा भएका विगत ६ महिनाको प्रगति विवरणमा समेत समीक्षा गरिएको थियो ।
गाउँ सभामा बोल्ने सभा सदस्यहरुले आफुहरु जनताको समस्यालाइ प्रत्यक्ष अनुभूति गर्ने गरी काम गर्न कोेशिस गरेको बताएका थिए । कार्यक्रममा माडी गाउँपालिका उपाध्यक्ष जयपुरी घर्तिमगर (जुनमाया),प्रमुख प्रशासकीय अधिकृत जगत बहादुर घर्ती,वडा अध्यक्ष,कार्यपालिका सदस्य, सभा सदस्यहरु पत्रकार लगाएत कर्मचारीको पनि उपस्थिति रहेको थियो ।
