स्वस्थ मुटुका लागि कुलत त्यागौं

राजेन्द्र कोजु

४५ वर्षीय हर्कबहादुरको एक्कासि छाती भारी भएर आउँछ। केही चीजले थिचेजस्तो छातीको बीच भागमा दुख्छ। तातोपानी खाँदा हुन्छ कि आराम गर्दा हुन्छ कि भन्दै पर्खिन्छ। तर दुखाइ घट्नुको सट्टा बढ्दै जान्छ। चिटचिट पसिना आउँछ, सास फुल्दै जान्छ। अति नै गाह्रो महसुस भएपछि ट्याक्सी बोलाएर परिवारका साथ नजिकको अस्पताल जान्छन्।

अस्पतालको इमर्जेन्सीमा पुग्दा छाती दुख्न सुरु भएको करिब दुई घन्टा बितिसकेको हुन्छ। चिकित्सकले सोधपुछ गरी शरीर जाँच्न सुरु गर्छ। साथै नर्सले रक्तचाप नाप्छ, तुरुन्तै औषधि दिन हातको रक्तनलीमा क्यानुला राख्छ। क्यानुला राख्ने क्रममा रक्त परीक्षणका लागि टेस्ट ट्युबमा रगत पनि झिकेर ल्याबमा पठाउँछ। अक्सिजन मास्क लगाइदिएर, तुरुन्तै ईसीजी लिन्छ। छाती, पेटसँगै अरू आवश्यक शरीरको भाग जाँचेर ईसीजी हेरेपछि चिकित्सक एउटा सम्भाव्य रोगको निदान गर्न पुग्छ– मायोकार्डियल इन्फ्रार्कसन अर्थात् हार्ट एट्याक। पक्का गर्न ल्याबको रक्त परीक्षणको रिपोर्टले मद्दत मिल्न सक्छ, तर ल्याबको रिपोर्ट आउन समय लाग्छ।

हार्ट अट्याकको प्रारम्भिक निदान भएकाले आवश्यक औषधि खुवाएर पूर्ण उपचारको लागि मुटु अस्पताल रिफर गर्छ। एम्बुलेन्सबाट मुटु अस्पतालमा पुग्छ। मुटु अस्पतालमा पहिलेको ईसीजी ल्याब रिपोर्ट हेर्दै तुरुन्तै एन्जिओग्राम गर्ने सल्लाह हुन्छ र गरिन्छ। मुटुलाई रक्त प्रवाह गर्ने तीनवटा प्रमुख धमनीमध्ये एउटा धमनी ९९ प्रतिशत बन्द भएको देखिन्छ। मुटुरोग विशेषज्ञहरूले उक्त साँघुरिएर बन्दप्रायः भइसकेको धमनीलाई बेलुन र स्टेन्टबाट फुलाइदिन्छन्। औषधि नियमित खान दिन्छन्। छाती दुख्न कम हँुदै जान्छ। तेस्रो दिनमा अस्पतालबाट डिस्चार्ज हुन्छ।

हर्कबहादुर नियमित औषधि खाँदै नियमित जाँच गराइरहन्छ। हर्कबहादुरले जस्तो समयमै उपचार हरेकले नपाउन सक्छ। समयमा उपचार पाएन भने हार्ट अट्याकबाट मृत्यु पनि हुन सक्छ।

कुनै ठाउँमा अस्पताल छैन। कुनै ठाउँमा चिकित्सक मुटुरोग विशेषज्ञ छैन। कुनै ठाँउमा उपकरण छैन। कुनै ठाँउमा औषधि छैन, तर रोग सबैतिर बढिराखेको छ। कम विकसित राष्ट्र, गरिब जनतामा मुटुरोगको समस्या अझ धेरै हुन्छ।

–सुर्ती, चुरोट सेवन गर्नेलाई मुटुरोग लाग्ने सम्भावना धेरै हुन्छ।

–अधिक चिल्लो सेवन मुटुका लागि हानिकारक छ।

–मोटोपना, शारीरिक व्यायामको कमीले पनि मुटुको रोग लाग्न सक्छ।

–चिनीरोग, उच्च रक्तचाप भएका व्यक्तिलाई मुटुरोगको सम्भावना धेरै हुन्छ।

यी कुराको जानकारी धेरैलाई छ र धेरैलाई नहुन पनि सक्छ, तर जानकारी हुनेलाई पनि आफ्नो बानी परिवर्तन गर्न मुस्किल परिराखेको हुन्छ।

सूर्ती, चुरोट सेवन गर्ने अधिकांश व्यक्तिलाई यसको नराम्रो असरको जानकारी यथेष्ट हुन सक्छ, तैपनि छोड्न सक्दैनन्। तलतल लागेपछि अनेक बहाना बनाउँछ। ‘अहिलेसम्म त खाएँ, केही भएको छैन, अब किन छोड्ने ? ’ ‘फलानाले खान्थ्यो र पनि ८० वर्ष बाँच्यो !’ ‘मेरो पैसाले खाने, मैले खाने, तिमीलाई के मतलब ? ’ ‘चुरोट तानेन भने दिसा आउँदैन, चुरोट छोड्यो कि खोकी लाग्छ, पिर पर्छ, चुरोट नखाइ निद्रै पर्दैन’ आदि, आदि। तर यी सबै भनाइ बहाना मात्र हो, मुख्य कारण यसको लत नै हो। हो, लत छोड्न त्यति सजिलो नहोला, तर असम्भव होइन। धेरैले रोग लागिसकेपछि छोडेको पाइन्छ। त्यो पनि राम्रो हो। तर रोग लाग्नुअगाडि नै छोड्न सक्यो भने धेरै राम्रो हुन्छ।

चुरोट, सुर्तीबाट हुने नराम्रो असरबारे गहिरोसँग बुझेर बलियो आत्मनिर्णय गर्‍यो भने सकिन्छ। ‘अबदेखि चुरोट, सुर्ती खान्नँ’ भनेर तलतल लाग्दा पानी पिउने, यतिउता भुल्ने, केही खाने अनि आत्मविश्वासका साथ दृढ निश्चय गर्नुपर्छ। एक दिन गाह्रो होला, दुई दिन गाह्रो होला, तर सधैं गाह्रो हुँदैन। ‘अहिले एउटाचाहिँ तान्छु, भरेदेखि खान्नँ’ भनेर लत छुट्दैन। छोडेपछि चटक्कै छोड्नुपर्छ। छोड्न नसक्ने त हुँदै होइन। संकल्प चाहिन्छ।

छोडिसकेपछि आफ्नै निर्णयप्रति गर्व लाग्न थाल्छ। परिवारको माया पनि पाउँछ। महिनामा केही न केही रकम बचत पनि हुन्छ।

खानेकुरा पनि कुन परिकार कति खाने भन्ने जानकारी राख्नुपर्छ। महत्वपूर्ण कुरा के हो भने आफ्नो मनलाई बुझाउन सक्नैपर्छ। के खाने र के नखाने धेरैलाई थाहा छ। त्यो कुरा लागू गरौं। चिल्लो, गुलियो, नुनिलो कम खाऔं। सफ्ट ड्रिंक, जंक फुड, केक–कुकिज अत्यन्त कम खाऔं, वा नखाऔं। सागसब्जी, फलफूल, बोक्रासहितका अन्नबाट बनेको खानेकुरा खाऔं। पानी धेरै पिऔं। नियमित व्यायाम गरौं। चिनी, रक्तचाप नियमित जाँच गराऔं।

करिब तीन दशकअघिको अवस्था हेर्ने हो भने देशमा सरुवा रोगको तुलनामा नसर्ने रोग कम थिए। बदलिएको जीवनशैली, सहरीकरण, खाद्यान्नको मिसावट, प्रदूषित वातावरणजस्ता कारणले मुटुरोग, दम, क्यान्सर, चिनीरोग, चोटपटक, मानसिक रोगजस्ता नसर्ने रोगीको संख्या बढिराखेको छ। स्वास्थ्य मन्त्रालयले नसर्ने रोगको रोकथाम पनि प्राथमिकतामा राखेर योजना तर्जुमा गरी कार्य सुरु गरिसकेको छ यद्यपि त्यो पर्याप्त नहुन सक्छ। विपन्न नागरिकका लागि मुटुरोग उपचार खर्च एक लाखसम्म उपलब्ध गराएको छ। भविष्यमा आवश्यकताअनुसारको विस्तार गरिनुपर्छ। प्राथमिक स्वास्थ्य केन्द्रदेखि नै मुटुरोगको सेवा दिनुपर्छ। जनचेतना अभिवृद्धिका कार्यक्रम बढ्नेछ। यसर्थ भविष्यमा मुटुरोगको उपचार सहज हुनेछ।

विश्व मुटु दिवस २९ सेप्टेम्बरमा मनाइन्छ। हाम्रो हरेक पल धड्किरहन्छ, जसले हामीलाई जीवित राख्छ। यो मुटुलाई स्वस्थ तरिकाले धड्कन दिने कर्तव्यचाहिँ तपाईंको, मेरो अनि हाम्रो हो। मेरो मुटु, तपाईंको मुटु, स्वस्थ मुटु।